👆
   . १०:३७ PM |   Thu 8 Dec, 2022 . 04:52 PM

विश्वप्रकाश शर्मा : १५ वर्षको प्रतीक्षापछि तेश्रो प्रयासमा सांसदमा निर्वाचित





काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एबम प्रभाबशाली युवा नेता विश्वप्रकाश शर्मा करिब १५ वर्षपछि तेश्रो पटकमा अन्ततः प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन्।

एमालेको प्रभाव क्षेत्र मानिने झापा क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।

पार्टीभित्र प्रभावशाली युवा नेताको छवि बनाएका शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।

दुई पटक यसै क्षेत्रबाट पराजित भएका महामन्त्री शर्माले कार्यकर्ता पंक्तिकै असन्तुष्टिका बीच तेश्रो पटक उम्मेदवार बन्ने निर्णय गरेका थिए ।

जितपछि शर्माले पुराना भनाइ दोहोऱ्याउँदै भने,‘पहिलो प्रतिस्पर्धा परिचयको थियो, दोश्रो अनुभवको र यो परिणामको हो ।’

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै समूहमा नपर्दा महामन्त्रीमा विश्वप्रकाश शर्माको प्रतिस्पर्धा एकदमै कठिन देखिएको थियो । तर, धेरैलाई चकित बनाउँदै उनले सहज जित निकाले ।

प्रदीप पौडेल, डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाललाई रोक्दै महामन्त्री बन्नुको आधार थियो, ‘पपुलर भोट’। महाधिवेशन प्रतिनिधिहरुले पार्टी नेतृत्वमा युवालाई हेर्न चाहे र गगनकुमार थापासँगै विश्वप्रकाश पनि लोकप्रिय मतको बलमा निर्वाचित भए।

२०६४ को पहिलो संविधान सभा निर्वाचनअघि नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले विश्वप्रकाश शर्मालाई सोधेका थिए, ‘तिमी समानुपातिक सूचीमा बस्छौ त?’

गिरिजाबाबुसँग निकट रहेका शर्माले त्यसबेला भनेका थिए, ‘म समानुपातिकमा बस्दिनँ गिरिजाबाबु, कि प्रत्यक्षमा लड्छु, कि प्रतिक्षा गर्छु।’

नेपाल विद्यार्थी संघलाई सफल नेतृत्व दिएर बिदा भएका शर्माले त्यसबेला झापाको कांग्रेस कार्यक्रममै भनेका थिए, ‘मलाई समानुपातिकमा बस्न पार्टी सभापतिले भन्नुभएको छ। तर, म पाए प्रत्यक्ष लड्छु, नभए प्रतिक्षा गर्छु।’

अहिले कांग्रेस महामन्त्रीसमेत रहेका शर्मालाई मुलुकको प्रत्यक्ष निर्वाचित संसद् सदस्य भएर सिंहदरबार प्रवेश गर्न भने झन्डै १५ वर्ष प्रतीक्षा गर्नुपर्‍यो।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?