👆
   . १०:४५ PM |   Mon 29 Apr, 2024 . 05:00 PM

नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले जित्यो महिला टी–२० सिरिजको उपाधि





काठमाडौँ : महिला टी–२० सिरिजको फाइनलमा नेपालले हङकङलाई १३ रनले पराजित गरेको छ । नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक भएपछि खेलको डकवर्थ लुइस पद्दति (डीएल) अनुसार विजेता घोषणा गरिएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो । हङकङले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै १०१ रन बनायो । १०२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो ।

त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिइन् । त्यसअघि काजल श्रेष्ठ भने रन नबनाइकन आउट भइन् । वर्षा अत्यधिक भएपछि खेल पुनः सुरु हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो ।

यसअघि हङकङका लागि ब्याटिङ गर्दै याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक/एक विकेट लिइन् । फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुशी डङ्गोल भइन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । अन्तिम खेलमा नेपाल मलेसिायासित ६ विकेटले पराजित भएको थियो । यसैगरी हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो । उसले दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले पराजित गरेको थियो ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?