👆
   शनिबार २२ चैत , २०८१ . १२:४० PM |   Sat 5 Apr, 2025 . 06:55 AM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालनमा





हिउँदभर दैनिक १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ। विमानस्थलको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गत कात्तिक २३ देखि पाँच महिनासम्म दैनिक १० घण्टा बन्द गरिँदै आएको थियो।

निर्धारित समयसीमा पूरा भएसँगै अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ। यद्यपि, सबै स्तरोन्नति कार्य भने पूर्ण रूपमा सम्पन्न भइसकेको छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ निर्माणको काम अघि बढाएको थियो। यस अवधिमा बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र उडान सञ्चालनमा रहेको थियो भने राति १० बजेदेखि बिहान ८ बजेसम्म सबै उडान बन्द गरिएको थियो।

एशियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब रुपैयाँ लागतमा भएको स्तरोन्नति कार्य करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वे र धावनमार्ग जोड्ने लिङ्क–वे निर्माण पूरा भएको छ, तर समानान्तर ट्याक्सी वे निर्माणका केही काम अझै जारी छन्।

अबदेखि विमानस्थल राति १२ देखि बिहान ६ बजेसम्म मात्रै बन्द रहनेछ। बाँकी कार्य रातिको समयमा मात्रै गर्नुपर्ने भएकाले सम्पूर्ण स्तरोन्नति कार्य पूरा हुन अझै एकदेखि डेढ वर्ष लाग्ने अनुमान गरिएको छ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?